कार्बन उत्सर्जन शून्यमा झार्ने नेपालको प्रतिबद्धता कार्यान्वयन गर्न बेलायतले सहयोग गर्ने


२४ कार्तिक २०७८, बुधबार


काठमाण्डौ । नेपालले सन् २०२२ देखि २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ।

पर्वतीय दिवसको अवसरमा बेलायती दूतावास काठमाण्डौ, राष्ट्रिय योजना आयोग र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास कार्यक्रम ९इसिमोड० ले हिजो स्कटल्यान्डको ग्लास्गो र ललितपुरमा एकैसाथ गरेको कार्यक्रममा नेपालले यस्तो प्रतिबद्धता जनाएको हो ।

हिजो ग्लास्गोमा भएको कार्यक्रममा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनको जोखिममा रहेका समूदायलाई सुरक्षित राख्न समेत सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता जनाउनु भएको हो ।

नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपालको प्रतिबद्धता कार्यान्वयनमा बेलायतले सहयोग गर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘नेपालको प्रतिबद्धता चुनौतीपूर्ण र महत्वाकाङ्क्षी रहे पनि यसबाट बेलायत खुशी भएको छ। तथापि यसको कार्यान्वयनका लागि धेरै लगानी चाहिन्छ जुन नेपालका लागि मुख्य चुनौती हो ।’

साथै मन्त्री यादवले अहिले भइरहेको वन विनाशलाई रोकेर सन् २०३० भित्रमा वनजङ्गलको क्षेत्रफल ४५ प्रतिशत पुर्याउने लक्ष्य राखेको बताउनु भएको छ ।

स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी २६ औंँ विश्व सम्मेलनमा जलवायु परिवर्तनको असरविरुद्ध लड्न बेलायत सरकारले १२ अरब ६० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको प्रतिबद्धता जनाएको छ ।

सम्झौताअनुसार त्यो रकमबाट त्यसबाट नेपालले पनि लाभ पाउनेछ । साथै बेलायत सरकारले दक्षिण एसियाली देशका लागि मात्र ३६ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रतिबद्धता घोषणा गरेको छ । यसैगरी अरु रकम पनि नेपालमा आउँछ ।

बेलायतले नेपाललाई जलवायु परिवर्तनविरुद्व काम गर्नका लागि यसअघि सन् २०१५ मा नै ५० करोड अमेरिकी डलर सहयोगको प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार