विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक व्यक्तिको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो ।
१० वर्ष कैद सजाय भएका थापा ६ वर्षयता मोरङ कारागारमा थिए । बिहीबार बिहानपख उनको मृत्यु भएको हो ।
मोरङको रतुवामाई नगरपालिका घर भएका थापा गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ ल्याउन हुँदैन भन्ने कैदीहरूको समूहमा थिए । मोरङमा रहेका केही कांग्रेस नेताको जोडबलमा कात्तिक १६ गते गिरीलाई मोरङ ल्याउँदा चौकीदार किरण गुरुङसहितको समूहले गिरीलाई भित्र पश्न दिएको थिएन । त्यसपछि प्रशासनले गिरीलाई सप्तरी पठाएको थियो ।
सप्तरीमा रहेका गिरीकै योजनामा मंगलबार कारागार भित्र झडप भएको स्रोत बताउँछ । झडपमा ६ जना घाइते भए । झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङ र १३ जना नाइकेलाई झापा, सुनसरी र इलाम स्थानान्तरण गरी गिरीका सहयोगी कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो ।
झडपपछि गिरीको विपक्षमा रहेका १४ जनाको सरुवा हुँदा थापा परेनन् । गिरीका सहयोगी कात्तिक कामतले चौकीदारको जिम्मेवारी पाएको दुई दिनपछि थापाको शंकास्पद मृत्यु भएको कारागार स्रोत बताउँछ ।
कारागार स्रोतका अनुसार चौकीदारको जिम्मेवारी पाएलगतै कामतले अभिषेकको विपक्षमा रहेकाहरुलाई यातना दिन थालेका छन् । ‘उसलाई ९अभिषेक गिरी० अस्ती रोक्नेलाई छानीछानी नयाँ चौकीदारले यातना दिंदैछन्,’ कारागार स्रोतले भन्यो, ‘मृतक थापालाई पनि दुई दिनदेखि यातना दिइरहेका थिए ।’
जिल्ला कारागार मोरङका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार ६ वर्षयता कारागारमा रहेका थापालाई यसअघि स्वास्थ्यमा समस्या देखिएको थिएन । राति पेट दुख्ने र श्वास फेर्न समस्या भएपछि कोसी अस्पताल लगिएको उनले बताए । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया