डेढ महिनापछि बैतडीमा हवाई सेवा पुनः सञ्चालनमा



बैतडी । डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ।

गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो।

मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए।

उनले भने, ‘यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको छ।’

आज धनगढीबाट १३ यात्रु लिएर आएको र यहाँबाट १८ यात्रु लगेर जहाज गएको भट्टको भनाइ छ। साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ।

गत डेढ महिनामा तराईमा हुस्सु नै पहाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो। मौसम सफा हुँदै गएकाले अब साताको एकदिन शुक्रबार नियमित उडान हुने जनाइएको छ।

१८ यात्रु क्षमताको समिट एयरको जहाजको बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ ।

१७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीयले बताएका छन्। धनगढीबाट बिहान १० बजे र बैतडीबाट बिहान साढे १० बजे समिट एयरले उडान भर्दै आएको छ।

शुरुमा ३ हजार ८५० रुपैयाँ भाडा भए पनि इन्धनको मूल्य बढेर ४ हजार १ सय पुगेको हो।

गत वर्ष पनि एक महिना खराब मौसमका कारण एक महिना हवाई सेवा बन्द भएको थियो। पाटन विमानस्थल २६ वर्षपछि २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको थियो।
विस २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो।

त्यतिवेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो।

सम्बन्धित समाचार