संसद्‍को अर्को बैठक फागुन ८ गते बस्‍ने



काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बस्ने भएको छ। आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो। अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेश गर्न कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूलाई समय दिएका थिए।

उक्त प्रतिवेदन पेश भएसँगै सभामुख सापकोटाले फागुन ८ सम्मका लागि बैठक स्थगित गरेका हुन्। बाहिर एमसिसी टेबल हुने हल्ला चले पनि एमसिसी टेबल भएन।

आजको बैठक पनि सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका थिए।

संसदको अवरोध हटाउने तथा एमसिसीबारे बिहीबार राति अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो। यद्यपि, कुनै निकास निस्किएको भने छैन।

सत्ता गठबन्धनले पनि अर्को बैठक आइतबारका लागि बोलाएको छ। उक्त बैठकले राजनीतिक सहमति गरी एमसिसीबारे निकास दिने नेताहरूले दाबी गरेका छन्।

 

सम्बन्धित समाचार