धनकुटा । धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको छ। धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिने भएको हो।
धनकुटा उद्योग वाणिज्य संघले आइतबार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारीअनुसार धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले आगामी माघ ६ गतेदेखि १६ गतेसम्म प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको हो।
धनकुटाको टुँडिखेलमा आयोजना हुने महोत्सवमा धनकुटामा उत्पादन भएका वस्तुलाई पहिलो प्राथमिकता दिइने धनकुटा उद्योग वाणिज्य संघका सचिव श्रीराम रायमाझीले जानकारी दिए।
एक सय ५० स्टल राखिने महोत्सवमा एक सय ३५ वटामा घरेलु उत्पादन र १५ वटामा जातीय परिकार रहने आयोजकले जनाएको छ। महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने तथा ७७ लाखको आयव्ययमा करिब ५ करोड रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ। प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवलाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार, प्रदेश सरकार र धनकुटाका सबै स्थानीय सरकार र सबै सरोकारवाला कार्यालय र संघ संस्थासँग समन्वय गरी उनीहरुकै सहयोग र सहकार्यमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष विजय सन्तोषी राईले बताए।
पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने मूलनारा तय गरिएको महोत्सव आयोजक समितिले जनाएको छ। महोत्सवका लागि अग्रिम बुकिङ सुरु भइसकेको आयोजकले जनाएको छ।
महोत्सवमा नेपाल एकीकृत व्यापार रणनीति ९एनटिआइएस० मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिने छ। स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकारसमेत प्रदर्शनीमा राखिने छ। मेलालाई थप मनोरञ्जन प्रदान गर्न स्थानीयस्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम एवं बालबालिकाका लागि बालउद्यानसमेत रहने मूल आयोजक समिति धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले बताए।
धनकुटा उद्योग वाणिज्य संघले प्रत्येक तीन बर्षमा धनकुटा महोत्सव गर्दै आएकोमा कोरोनाका कारण गत वर्ष महोत्सव हुन नसकेकोले यस वर्ष महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए। धनकुटा उद्योग वाणिज्य संघले यसभन्दा अघि २०६५, २०६८, २०७१ र २०७४ सालमा पनि महोत्सवको आयोजना गरेको थियो।
प्रतिक्रिया